काठमाडौं : सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो ।विश्वमा रोजगारी बढेसँगै सुनको कारोबारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार कोभिड-१९ का कारण रोजगारी गुम्दा विश्वमा सुनमा लगानी बढेको थियो । तर, पछिल्लो समय रोजगारी बढ्दै गएकाले सुनमा लगानी गर्नेभन्दा पनि सुन बिक्री गर्नेहरु बढेका उनले बताए ।
रोजगारी नहुँदा आयस्रोतको रुपमा सुनमा धेरैले लगानी गर्ने हुँदा भाउ पनि बढ्दै जाने शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै घट्ने सम्भावना देखिएकाले नेपालमा पनि सुनको भाउ फेरि घट्ने अनुमान गरिएको छ। पोहोर कोभिड-१९ का कारण भएको लकडाउन पछि नेपालमा सुनको भाउ महँगो हुँदै गएको थियो ।
गएको साउन महिनामा भाउ बढेर सुनको भाउ तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता भनेर भाउले नयाँ रेकर्ड बनाएको छैन । यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया