लेटेस्ट न्युज
advertisement1

दुई देशबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने

Maryada News 2021-07-21 11:42:31
दुई देशबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने

काठमाडाैंः जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ। पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

केही दिनभित्रै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए। उनका अनुसार हाल मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ। उनले भने, “पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो।”

भारत सरकारले नेपाल सरकारलाई रेल सञ्चालनका लागि बनाएको सबै संरचना हस्तान्तरण गर्ने महाप्रबन्धक भट्टराईले बताए। भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्रयाक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायतका सामग्री विधिवत् हस्तान्तरण हुनेछ।

दुई देशबीच रेल सञ्चालनका लागि आवश्यक पर्ने अरु कागजात आदानप्रदान गर्नुपर्ने उनले बताए। भारतको सरकारी कम्पनीसँग गरेको समझदारीको कागजात पनि आदानप्रदान गर्न बाँकी छ।

कम्पनीले रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि तयारी गरेको छ। रेल सञ्चालनमा संलग्न जनशक्तिलाई तालिम दिइएको कम्पनीले जनाएको छ। तीन जना भारतीयले तालिम दिएका थिए भने ५/६ जना भारतीय केही दिनभित्र ल्याउन लागिएको छ। अब आउन लागेका व्यक्तिले रेलको संरचनाका बारेमा र सञ्चालन खाकाका बारेमा जानकारी गराउने छन्।

रेल सञ्चालनका लागि आवश्यक परीक्षण पनि सकिएको छ। ‘ट्रायल ट्रयाक टेस्ट’ भइसकेको महाप्रबन्धक भट्टराईले बताए। उनका अनुसार ट्रयाक, सिग्नल काम गरे/नगरेको हेरिएको छ।

यता भारतीय पक्षले नेपालमा छिटो सञ्चालन होस् भनी घच्घच्याइरहेको कम्पनीले जनाएको छ। अहिले कोभिड सङ्क्रमणको त्रास भए पनि भारततर्फ जयनगरसम्म जानका लागि बाधा नहुने उनले बताए। अरु सार्वजनिक सवारी साधन चलिरहेकाले रेल पनि आपसी छलफलपछि चलाउन सकिने उनले बताए।

त्यसका लागि दुई देशका सरकारको तहबाट निर्णय गर्नुपर्छ । तत्कालका लागि जयनगर–जनकपुर चलाउने भन्ने छलफल भइरहेको छ। रेल चलेपछि नेपालबाट भारत र भारतबाट नेपाल दुवैतर्फ नै आवतजावत हुनेछ। उनले भने, “त्यसैले पनि दुवै देशका प्रतिनिधि बसेर छलफल गरेर टुङ्ग्याउनुपर्छ।”

कम्पनीमा २०० नेपाली र २६ भारतीय कर्मचारी रहने जनाइएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँचवटा रेलमार्ग अघि बढाइने सहमति भएको थियो। त्यसमध्ये सबैभन्दा पहिले जयनगर–कुर्था निर्माण भइसकेको छ।

कुर्थाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण पनि अघि बढेको छ। जयनगर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाल सरकारले गत आवमा भारतीय सरकारी कम्पनीसँग रेल सेट खरिद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्