खोटाङ- स्थानीय आफैं अग्रसर भइ दूधकाेशीकाे पानी लिफ्टिङ् गरि गाउँ पुर्याएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवाका स्थानीयले आफैं दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर करिब एक हजार सात सय ९० मिटरमाथि रहेको थामडाँडामा पानी पुर्याएका हुन्।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीयले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्ने उद्देश्यका साथ पानी गाउँ पुर्याएका हुन्।
दूधकोशीको सान्ने दोभानमा २० किलोवाट क्षमताको सोलार प्यानल जडान गरि गाउँमा नदीको पानी पुर्याइएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले बताए। “दूधकोशी नदीको पानी ७२५ मिटरमाथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर पुनः त्यहाँबाट तानेर थामडाँडाको दोस्रो पोखरीमा जम्मा गरिएको छ”, उनले भने, “दूधकोशी नदीको पानी गाउँमा निकाल्न सर्वोच्च अदालतमा कार्यरत वकिल जगतबहादुर कार्कीको ठूलो भूमिका छ।”
खानेपानी अभावमा काकाकुल अवस्थामा जीवन निर्वाह गरिरहेका बाहुनीडाँडामा पानी पुर्याइएपछि राहत मिलेको छ।
कदुवामा पानी ल्याउने कुनै स्रोतको विकल्प नभएकाले नदीको पानी लिफ्ट गरेर गाउँमा पुर्याइएको स्थानीय बासिन्दा एवं व्यवसायी फौदसिंह कार्कीले बताए। “बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रतिघण्टा चार हजार लिटरका दरले पानी गाउँमा पुर्याउने गरिएको छ”, उनले भने, “गाउँमा निकालिएको पानी कदुवाका स्थानीय बासिन्दाले पिउनका लागि समेत उपयोग गरिरहेका छन्।”
उपभोक्ता समितिका अध्यक्ष नीरकुमार कार्की, उपाध्यक्ष कमलबहादुर कार्की, सचिव तिलक कार्की, कोषाध्यक्ष चन्द्रबहादुर कार्की, सदस्य प्रल्हाद कार्की, विदुर कार्की, सन्तोष प्रधानलगायतका व्यक्तिको करिब रू ४५ लाख लागतमा पानी गाउँमा पुर्याइएकाे हाे। लिफ्टिङ खानेपानी योजनाको ट्याङ्की निर्माणलगायत कतिपय काम अझै बाँकी नै रहेको उपभोक्ता समितिले जनाएको छ।
लिफ्टिङ योजना सफल बनाउन कदुवाका ८० घर स्थानीयवासीले श्रमदानसमेत गरेका छन्। श्रमदान गरेवापत उनीहरूले हाल लिफ्टिङ गरेर निकालिएको दूधकोशी नदीको पानी उपयोग गर्ने अवसर पाएका छन्। दूधकोशीबाट लिफ्टिङ गरिएको पानी बाहुनीडाँडास्थित मालिकादेवी माविलाई पनि उपलब्ध गराइएको छ।
उपभोक्ता समितिले नदीबाट निकालिएको पानी विद्यालयलाई निःशुल्क उपलब्ध गराएपछि यसअघि घरबाटै पानी बोकेर विद्यालय जाने विद्यार्थीलाई समेत सहज भएको छ।
हलेसी तुवाचुङ नगरपालिकामा दूधकोशीको पानी निकाल्न हलेसी क्षेत्र खोटाङ बृहत् पम्पिङ खानेपानी आयोजनाको काम भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त बृहत् पम्पिङ खानेपानी आयोजनाको काम भइरहेको अवस्थामा कदुवाका स्थानीय बासिन्दाले आफ्नै पहलमा नदीको पानी निकालेका हुन्।
प्रतिक्रिया