काठमाडाैंः नेपाली चलचित्रकी नायिका तथा निर्माता जेनी कुँवरले आत्महत्या गरेकी छिन्। गएराति ८ बजे आफ्नै निवासमा उनले आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ।
उनी काठमाडौंकाे थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिइन्। महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्याैपानेकाे टाेली घटनास्थल पुगेर प्रारम्भीक अनुसन्धान गर्दा मृत्युकाे कारण आत्महत्या रहेकाे खुलेकाे छ।
यस्तै उनी लामाे समयदेखि डिप्रेसनकाे शिकार भएकी र औषधि सेवन गर्दै आएकी पनि प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ।
यस्तै प्रहरीले कुँवरकाे काेठाबाट सुसाइड नाेट पनि फेला पारेकाे छ। प्रहरीका अनुसार सुसाइड नाेटमा कुँवरले आफ्नाे निधनमा अरु कसैकाे दाेष नभएकाे बताएकी छिन्।
उनले आफू डिप्रेशनकाे शिकार भएकाे बताउँदै लेखेकी छिन्- 'पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो, यसमा कसैको दोष छैन।'
नायिका कुँवरले जीवनदाता, कानून, धुम, मैदान, मिस्टर डन, हलचल, घायल, अभिमन्यूलगायतका थुप्रै चलचित्रमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेकाे चलचित्र घायलकाे 'माया गर मायालुले' बाेलकाे गीत केही समयअघि सामाजिक सञ्जाल टीकटकमा निकै भाइरल भएकाे थियाे।
प्रतिक्रिया