ताप्लेजुङः जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नेपाल वायु सेवा निगमले नियमित उडान शुरु गरेको छ। कोभिडका कारण नियमित उडान दुई महिना बन्द भएको थियो।
आज काठमाडौंबाट ९ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए। १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारण अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जनाइएको छ।
ताप्लेजुङबाट १२ यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए। मौसमका कारण विमान अवतरण हुन नसक्दा पुनः फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए। सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ।
तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रू सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं रू सात हजार १९० भाडा शुल्क तोकिएको छ। निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताएको छ।
प्रतिक्रिया