काठमाडौं- संघिय सरकार गठनको तीन बर्ष पुरा भएसंगै प्रदेश सरकारहरुले पनि आफ्नो कार्य प्रगति प्रस्तुत गर्न थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार गठन भएको तीन बर्षे अवधिमा भए÷गरेका कामहरुको प्रगति सुनाएकै दिन सोमबार प्रदेश नम्बर २ सरकारले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनकपुरधाममा तीन वर्षको उपलब्धि सार्वजनीकरण समारोहको आयोजना गर्दै कार्य प्रगति सार्वजनिक गर्यो।
तर संघिय सरकार र प्रदेश सरकारले तीन बर्षको अवधिमा गरेको कार्य प्रगतिप्रति आम जनता सन्तुष्ट हुने अवस्था छैन।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयतालाई संस्थागत गर्न तीन बर्षको अवधिमा कानून निर्माणको कामलाई मात्रै पहिलो प्राथमिकतामा राखेको बताएका छन्। उनले सङ्घीयता संस्थागत गर्नका लागि कानून निर्माण, भौतिक संरचना र मानवीय विकासका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरेका हुन्।
आफू नेतृत्वको प्रदेश सरकार गठन भए यता ४३ वटा कानून निर्माण गरिएको र ३६ कानून निर्माणका लागि प्रक्रियामा रहेको उनले जानकारी दिए।
त्यसैगरी लक्षित वर्गमैत्री कानून निर्माण गरी विभेदरहित समतामूलक र सुशासित प्रदेश निर्माणको कामलाई अगाडि बढाइएको बताईएको छ।
प्रतिक्रिया