काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले बारम्बार संविधानकाे मर्मलाई कुल्चिएकाे निष्कर्ष निकाल्दै यसखाले प्रवृत्ति राेक्न सबै दलसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेकाे छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेकाे कांग्रेस पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षा गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेकाे हाे।
बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संविधानकाे धारा ७६ (५) बमाेजिम सरकार गठन हुन नसक्ने र साे कार्य गरेमा संविधानकाे मर्म र भावना विपरीत हुने ठहर गरेकाे छ। प्रधानमन्त्रीले विश्वासका मत नलिने भए राजीनामा दिनुपर्ने पनि कांग्रेसले बताएकाे छ।
यस्तै कांग्रेस पदाधिकारी बैठकमा राष्ट्रपतिलाई महाभियाेग लगाउने बारे पनि छलफल भएकाे छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेलले कांग्रेस महाभियाेगकाे लागि तयार भएकाे बताएका छन्। आज साँझ ५ बजे अगावै कांग्रेसले सबै विकल्प अपनाएर लाेकतन्त्र र संविधानकाे रक्षा गर्ने बताएकाे छ।
यस्तै बैठकले नयाँ सरकार गठन गर्न निकै कम समय दिइएकाेमा पनि आपत्ति जनाएकाे छ।
प्रतिक्रिया