लेटेस्ट न्युज
advertisement1

'राष्ट्रपतिलाई महाभियाेग लगाऔं': विवेकशील साझा

Maryada News 2021-05-21 11:11:02
'राष्ट्रपतिलाई महाभियाेग लगाऔं': विवेकशील साझा

काठमाडाैंः विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउन आह्वान गरेकाे छ। शुक्रबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि श्रृङ्खलाबद्ध प्रहार भएकाे भन्दै तत्काल महाअभियाेग लगाएर पदमुक्त गर्न आह्वान गरेकाे हाे। 

यस्तै पार्टीले प्रधानमन्त्री ओलीकाे विपक्षमा रहेका दल तथा सांसदहरूलाई एक जुट भइ नयाँ सरकार गठनका लागि पहल गर्न पनि आह्वान गरेकाे छ।

विज्ञप्तिमा भनिएकाे छ- 'संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भइ नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।'

यस्तै संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुपर्नेमा त्यसकाे विपरीत बिहीबार साँझ राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढाएर संविधानको ठाडो उल्लंघन गरेकाे भन्दै पार्टीले प्रधानमन्त्री ओलीकाे सिफारिसलाई राष्ट्रपति भण्डारीले सदाझैं रबर स्ट्याम्पसरह सदर गरेकाे आराेप लगाएकाे छ। 

त्यस्तै वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले २१ घण्टाकाे समयमात्र दिएकाे सन्दर्भमा पनि पार्टीले ओलीलाई नै पुनः प्रधानमन्त्री बनाएर प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावकाे बहानामा देशलाई अस्थिरतातर्फ हाेम्ने षड्यन्त्रकाे निरन्तरता भएकाे बताएकाे छ। 

'कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध हो', विज्ञप्तिमा भनिएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्