काठमाडाैंः विवेकशील साझा पार्टीले बागमती प्रदेशकाे जारी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएकाे छ। पार्टीकाे बागमती प्रदेश सभा संसदीय दलका नेता रमेश पौड्यालले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्नाे दलले बिहीबार भइरहेकाे उपनिर्वाचनमा कुनै पनि उम्मेदवारलाई मत नदिने बताए।
विज्ञप्तिमा भनिएकाे छ 'चुनावी मैदानमा प्रतिस्पर्धारत तीनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ।'
उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल समूहबाट खिमलाल देवकोटा उम्मेदवारकाे रुपमा खडा भएका छन्। यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवारकाे रुपमा छन्।
जारी उपनिर्वाचनमा विवेकशील साझा पार्टीका तीन जना प्रदेश सभा सदस्य मतदाताका रुपमा रहेका छन्। तीन जनाकाे मतभार एक सय ४४ रहेकाे छ।
यस्तै विज्ञप्तिमा विवेकशील साझाले शीघ्र ‘नो भोट’ काे व्यवस्था लागू गर्न पनि सरकार र निर्वाचन आयाेगसमक्ष माग गरेकाे छ। सर्वा्च्च अदालतले सात वर्षअघि नै ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको भए पनि हालसम्म कार्यान्वयन नभएकाे भन्दै खेद प्रकट गरेकाे छ।
प्रतिक्रिया