कोरोना महामारीबिच नेपालमा आज अक्सिजनको अभावले विकराल रूप लिँदै छ । चिकित्सक र स्वास्थ्य मन्त्रालयले व्यक्तिगत रूपमा अनावश्यक अक्सिजन सिलिन्डर भण्डारण नगर्न अनुरोध गरे पनि कयौँ अस्पतालहरूले सिकिस्त बिरामीका आफन्तलाई अक्सिजनको जोहो गर्न भन्ने हुनाले कयौँले सिलिन्डर घरमा भण्डारण गर्न थालेका छन्। यदाकदा कालो बजारीमा सङ्लग्न समूहहरूका कारण देशमा रहेका अक्सिजन सिलिन्डरको अवस्था पारदर्शी छैन।
उत्पादन, माग ढुवानी प्रक्रियाहरू माथि अनुगमन र बजार व्यवस्थापन फितलो हुनाले देशमा अक्सिजनको आपूर्ति शृङ्खला प्रभावित भएको छ। सकारले आदेश मात्रै दिएर रातारात औद्योगिक रूपमा प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न कठिन छ। अस्पतालका शैया र आकस्मिक कक्षहरू भरिँदै जाँदा बिरामीहरूलाई साना स्वास्थ्य चौकीहरूमा र घरमै व्यवस्थापन गर्न थालिएको छ। यस्तो अवस्थामा अक्सिजन आपूर्तिका वैकल्पिक र नवीकरणीय स्रोतहरूको खोजी, अनुसन्धान र आम जनतालाई सही सूचना थाहा हुन जरुरी छ।
कोरोना र अक्सिजनको कमी (हाईपोक्सिया)
कोरोनाका बिरामीमा सर्व प्रथम फोक्सोका कोशिका (निमोनोसाएट) सङ्क्रमित हुने हुनाले फोक्सोका भित्री सतहका तन्तुको क्रियाशीलतामा ह्रास आउँछ। बिस्तारै फोक्सोले रक्त कोशिकालाई साबिक भन्दा कम मात्रामा अक्सिजन प्रदान गर्ने (हाईपोक्सिया) हुँदै जान्छ। त्यसैले ज्वरो थर्ममिटरले नापे झैँ कोरोनाका बिरामीको अक्सिजनको मात्राको पनि पल्स अक्सिमिटरले नियमित मापन जरुरी हुन्छ।
स्वस्थ अवस्थामा रगतमा अक्सिजनको सन्तृप्तता (SpO2) ९५% भन्दा बढी हुन्छ र यो भन्दा कम भए स्वास्थ्यकर्मीको सल्लाह र प्रत्यक्ष निगरानीमा अक्सिजन लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा स्वास्थ्य चौकीहरूमा आपत्कालीन अक्सिजन अभावको समाधान अक्सिजन संकेन्द्रक (कन्सन्ट्रेटर)ले गर्न सक्छ।
अक्सिजन अक्सिजन कन्सन्ट्रेटर के हो र कसरी काम गर्छ ?
अक्सिजन कन्संट्रेटर एअर प्युरी फायर जस्तै काम गर्छ। यसले वातावरणबाट वायु सोसेर,नाइट्रोजन हटाई त्यसमा अक्सिजनको परिमाण बढाउँदै ९५% अक्सिजन सम्म पुर्याउछ। सामान्यतया वायुमा ७८ % जति नाइट्रोजन, २१% जति र अन्य ग्यास १%भन्दा कम हुन्छन्। अक्सिजन कन्सन्ट्रेटरले नाइट्रोजन छान्ने विशेष रासायनिक जाली प्रयोग गरेर हावाबाट नाइट्रोजन हटाउँछ। नाइट्रोजनको मात्रा घट्दै जाँदा अक्सिजनको मात्रा बढ्दै जान्छ।यसरी अक्सिजन संकेन्द्रित वायु बिमारीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपलब्ध गराइन्छ।
बिमारीलाई तरल औषधीय अक्सिजन (LMO) दिने अन्य माध्यमहरूमा अक्सिजनलाई तरल अवस्थामा सिलिन्डरमा उच्च चापमा भण्डार गरिएकोहुन्छ।खाना पकाउने ग्यास जस्तै बिरामीले नलीबाट उपभोग गर्दै जाँदा सिलिन्डरमा अक्सिजनको मात्रा घट्दै जान्छ र फेरी सिलिन्डर भर्नुपर्ने हुन्छ। अक्सिजनको अभाव हुँदा सिलिन्डर भर्न त्यति सहज र नवीकरणीय नहुन सक्छ। अक्सिजन कन्सन्ट्रेटरको श्रेष्ठता यसको नवीकरणीयता नै हो। कन्सन्ट्रेटरले विद्युत् या ब्याटरी रहुन्जेल कमै मात्रामा भए पनि निरन्तर उत्पादन गर्न सक्छ।
कन्सन्ट्रेटरका सीमितता : शुद्धता र परिमाण
सिलिन्डरमा उपलब्ध LMO मा ९९% शुद्धता हुन्छ भने कन्सन्ट्रेटरले ९५% सम्म मात्रै शुद्ध अक्सिजन उत्पादन गर्छ। विज्ञहरूको अनुसार यस्तोअक्सिजन कोभिडका हल्का र मध्यम रूपमा सङ्क्रमित बिरामी जसको SpO2 ८५ % भन्दा बढी भएका बिरामीलाई मात्रै उपयोगी हुन्छ। यसलाई कस्तो अवस्थामा कति मात्रामा दिने भन्ने निर्धारण गर्न दक्ष स्वास्थ्यकर्मीको सल्लाह र प्रत्यक्ष निगरानी मा नै उपयोग गर्नु पर्ने हुन्छ। सिकिस्त या सघन उपचार कक्षका बिरामीलाई यो मात्रा अपुग हुन्छ र प्रयोग गर्ने सुझाव दिइँदैन ।
उच्च हाईपोक्सिया SpO2 ८५ % भन्दा कम भएका भएका कोरोनाका सिकिस्त बिरामीलाई ४० देखि ५० लिटर प्रति मिनेट अक्सिजन चाहिने हुँदा यस्ता अवस्थामा सिलिन्डर द्वारा या भेन्टिलेटरद्वारा अस्पतालको सघन उपचार कक्षमै उपचार गर्नु पर्ने हुन्छ। कस्तो अवस्थामा कति मात्रामा दिने भन्ने निर्धारण गर्न दक्ष स्वास्थ्यकर्मीको सल्लाह र प्रत्यक्ष निगरानी मानै उपयोग गर्नु पर्ने हुन्छ। तर सामान्यतया कोरोनाको सघन उपचार चाहिने बिरामीको सङ्ख्या ५ ५ भन्दा कम रहेको हुनाले कोभिडका हल्का र मध्यम रूपमा सङ्क्रमित बिरामी जसको SpO2 ८५ % भन्दा बढी भएका बिरामीलाई कन्सन्ट्रेटर राम्रो विकल्प हो ।
कन्सन्ट्रेटरको विश्व बजारमा मूल्य र नेपालमा आपूर्ति
औषधी उपकरण हुनाले सामान्यतया चिकित्सकको लिखित निर्देशनको पर्चा बिना खरिद प्रक्रिया असहज हुन्छ। १० लिटर प्रति मिनेट उत्पादन क्षमताको चलायमान कन्सन्ट्रेटरको सामान्यतया विदेशी बजारमा ५ सय देखि एक हजारडलरसम्म र भारतमा ५० हजारसम्म पर्छ।
कन्सन्ट्रेटर कोभिड महामारी सँगै विश्वको बजारमा स्थित र चलायमान कन्सन्ट्रेटरको माग बढेको छ।अन्तर्राष्ट्रिय उडान प्रभावित भएको अवस्थामा विदेशबाट पठाउन असहज अवस्था छ। खुद्रा परिमाणमा लाग्दा सम्बन्धित स्थान सम्म पुग्न ढुवानी खर्च महँगो हुन जान्छ। चिन बाट स्थल मार्ग हुँदै नेपाल ल्याएर केही निजी व्यापारीहरूले १० लिटर प्रति मिनेट उत्पादन क्षमताको कन्सन्ट्रेटर १ लाख २० हजार सम्ममा उपलब्ध गराई रहेका छन्।
यो महामारी माझ मागआपूर्ति माझ सन्तुलन कायम गर्नुका साथै दलाली र कालो बजारी हुन नदिन स्थानीय,प्रदेश या सङ्घीय सरकारका सम्बन्धित निकायको यसमा समयमै ध्यानाकर्षण भई थोकमा आपूर्ति गर्न अर्को सरकार या कन्सन्ट्रेटर उत्पादक कम्पनीसँग सोझै साझेदारी गर्न सके उत्तम हुने थियो । स्थानीय,प्रदेश या सङ्घीय सरकारका सम्बन्धित निकायको यसमा समयमै ध्यानाकर्षण नभएको मनन गरी केही सामाजिक संस्था र मनकारी अभियन्ताहरू नेपालमा आपूर्ति गर्न अग्रसर छन् ।
प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने अभियान रोटरी क्लब धनगढीले चलाएको छ। यसमा कयौँ मनकारी अभियन्ताहरूले मन खोलेर सहयोग गरेका छन् । तर सुदूरपश्चिमका बझाङ , बाजुरा, बैतडी जस्ता पहाडी जिल्लाहरू लगायत देशका अन्य दुर्गम ठाउँहरूमा माग अनुसारको आपूर्ति हुन सकेको छैन।
- बिष्णु प्रसाद जोशी
खप्तड छान्ना-५, पिठातोला
हाल : विद्यावारिधि (रसायन शास्त्र)
युनिभर्सिटी अफ म्यासाचुसेट्स, अमेरिका
प्रतिक्रिया