लेटेस्ट न्युज
advertisement1

रोकिएन बलात्कारपछिको हत्या, आफन्त र चिनजानबाटै बढी पीडित

Maryada News 2021-02-09 15:07:11
रोकिएन बलात्कारपछिको हत्या, आफन्त र चिनजानबाटै बढी पीडित

काठमाडौं : २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला पर्‍यो। 

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।

यो प्रकरणमा स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिनको माग गरेका थिए। प्रहरीविरूद्ध भएको प्रदर्शनमा गोली लागि थप एक युवकको मृत्युसमेत भएको थियो।त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाका लागि एक विशेष छानबिन समिति गठन गरेको थियो। तर राज्यस्तरबाट भएका छानबिन र अनेकौं प्रयासबाट पनि निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन। 

त्यसयता पनि कैयौं महिला तथा किशोरीमाथि बलात्कार तथा यौनजन्य घटना भइसकेका छन्।

त्यस्तै बझाङ मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामीको पनि बीभत्स तवरले हत्या भयो। साँझ ५ बजे घरबाट गाईगोरु गोठभित्र बाँध्न निस्केकी उनको बलात्कारपछि हत्या भयो। गोठ नजिकैको सिमदेवता मन्दिरमा सम्झनाको शव भेटिएको थियो। 

निर्वस्त्र सम्झनाको शरीरभरि निलडाम र टाउकोमा चोट थियो। उनलाई पहिले बलात्कार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। सम्झनालाई स्थानीय २० वर्षीय राजेन्द्र धामीले सम्झनाको कानमा भएको सुनको मुन्द्राको लोभमा बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। 

प्रहरीका अनुसार जबरजस्तीकरणी गर्ने क्रममा सम्झना चिच्याउन लागेपछि मन्दिरभित्रको त्रिसुलले रोपेको र मृत्यु नभएपछि ढुंगाले टाउकोमा र छातीमा राजेन्द्रले कुटेको बयान दिएका थिए। यसैगरी गत फागुन २ गते मिथिला नगरपालिका–३ हरिहरपुरमा बिहेको भोजमा सहभागी भएकी ११ वर्षीया बालिका रेश्मा रसाइलीको बलात्कारपछि हत्या भयो। बोल्न नसक्ने रेश्मालाई फ्रुटीको लोभमा निरज मगरले बलात्कार गरेका प्रहरीले बताएको थियो। 

बिहेमा नाचगान गरिएको बेला बिजुली गएको मौका छोपी निरजले बालिकालाई नजिककै किराना पसलबाट चाउचाउ, फ्रुटीको लोभमा नजिककै उखुबारीमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ। 

रुपन्देही देवदह–११ की अंगीरा पासीको बलात्कारपछि मृत्यु भयो। गत जेठमा देवदह–२ स्थित रोहिणी खोला किनारमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। शुक्रबार राति घरबाट निस्केकी उनलाई खोज्ने क्रममा गाउँलेले कोइला भनिने २५ वर्षीय वीरेन्द्र भरसित बस्तीनजिकको खरियानमा भेटेका थिए।

किशोरीले केटासँग लागेर इज्जत फालेको भन्दै गाउँभेलाले उक्त केटाको हातमा अंगीराको हात राखिएदिएका थिए। उक्त भेलाको निर्णय अंगीरा माने पनि केटा(राजेन्द्र)ले अंगीरालाई अस्वीकार गरेपछि उनले 'झुण्डिएर  आत्महत्या' गरेकी थिइन्।  

यसैगरी बैतडीकी भागरथी भट्टको यही माघ २१ गते बलात्कारपछि हत्या भयो। विद्यालय गएकी भागरथी अबेरसम्म नफर्केपछि आफन्तले खोज्दै जाँदा उनको शव फेला परेको थियो। खोजतलास गर्दै जाँदा माघ २२ गते घरनजिकैको लबलेक जंगलमा बीभत्स र निर्वस्त्र रुपमा भागरथी मृत फेला परेकी थिइन्। भागरथीको शरीरका विभिन्न अंगमा निलडाम र चोटपटक, योनीबाट रगत बगेको र घाँटीसमेत निमोठिएको भेटिएको थियो। 

हरेक वर्ष बढ्दै गयो बलात्कारजन्य अपराध

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । पीडितमध्ये पाँच हजार बालिका माात्रै रहेका छन्। 

साउन ०७५ मा कञ्चनपुरकी निर्मलादेखि भागरथी हत्याको घटनासम्म आइपुग्दा देशभर तीन हजार तीन सय ४७ बालिका बलात्कारका सिकार भए। यसैगरी अपराध लुकाउन १७ पीडितको हत्या भएको छ।यो अढाई वर्षमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र छन्। योबीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ । कुल बलात्कार घटनामध्ये आधा त बालिका मात्रै छन्।

पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चार जनाको हत्या भयो। अहिले देशभर बलात्कार वा प्रयास या यस्तै प्रकृतिका दैनिक सात वटा घटना प्रहरीमा दर्ता हुन थालेका छन्। 

गत आर्थिक वर्ष ०७६र७७ को तथ्यांकलाई हेर्ने हो भने देशभर दुई हजार आठ सय ३१ महिला बलात्कृत भए । त्यसमध्ये एक हजार तीन सय ९३ जना जना १८ वर्षमुनिका छन्। त्यसमा पनि दुई सय ७३ जना नाबालिका हुन्।

त्यस्तै वर्ष ०७५र७६ मा दुई हजार सात सय ५३ बलात्कार घटना भएका थिए जसमध्ये बालिकाको संख्या एक हजार दुई सय ३२ छ। महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकले भन्छ – सात वर्षमा कुल बलात्कारको संख्या दोब्बरले वृद्धि भएको छ। आर्थिक वर्ष ०७०र७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६र७७ मा दुई हजार आठ सय ३१ महिला बलात्कृत भए ।

हरेक वर्ष बलात्कृत हुने नाबालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०र७१ मा पाँच सय ५९ नाबालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत नाबालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । 

आफन्त र छिमेकबाटै भए धेरै घटना

नेपाल प्रहरीको तथ्यांकअनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘एक वर्ष पनि नपुगेका बालिकामाथि पनि बलात्कार भए। ५० प्रतिशतभन्दा धेरै घटना आफन्त तथा नजिकका व्यक्तिबाट हुने गरेको प्रहरी तथ्यांक छ । बलात्कार घटनामा बालबालिका पीडित हुने क्रमसमेत बढ्दो छ । एक वर्ष नपुगेका बालिकाको पनि बलात्कार भएका घटना दर्ता भएका छन्। 

'महिलामाथि हुने विभेदले घटना बढ्न थाले'

नेपाली समाज दोहोरो चरित्र र जकडिएको भएकाले नै समाजमा यस्ता बढिरहेको राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी बताउँछिन्। बालिका तथा नारीमाथि हेर्ने नजर र गर्ने व्यवहारले पनि समाजमा यस्ता खालका कुकृत्य बढ्दै गएको उनले बताइन्। 'महिलालाई आत्मनिर्भर हुन नदिने, सीमित दायरा राख्ने, महिलालाई घरभित्र यातना दिने समाज रहिरहेकाले पनि समाजमा यस्ताखाले घटना भइरहन्छन्,' अन्सारीले भनिन्। 

साथै सञ्चार क्षेत्र गतिशील भएकै कारण यस्ता घटनामाथि राज्य र सरकारको बेलैमा ध्यान पुगेको उनले बताइन्। 'हिजोसम्म मिडिया पोलिटिकल न्युजमा केन्द्रित हुन्थे, अहिले मिडियाको नजर यता पनि गएको छ, समाजका विकृति समाजका अपराधहरूमा मिडियाले निकै सहयोग गरिरहेका छन्,' अन्सारीले भनिन्।  

पछिल्लो समय महिला हिंसा तथा बलात्कार घटना बाहिरिनुमा सञ्चार जगत र सचेत नागरिकको भूमिकाले उल्लेख्य काम गरेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

42.86%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

57.14%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्