काठमाडाैं : साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शानदार जित हात पारेको छ। इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४–१ ले हराएको हो।
सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो। यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात पारेका छन्।
गुन्डागोनले ३७औं मिनेटमा पेनाल्टी गुमाउँदा सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमाएको थियो। तर दोस्रो हाफमा भने गुन्डागोनले शानदार प्रदर्शन गरे।
४९औं मिनेटमा उनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ६३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए। तर ७३औं मिनेटमा गुन्डागोनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २–१ को अग्रता बनाउन सफल भयो।
७६औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले ३–१ को अग्रता लियो। ८३औं मिनेटमा फिल फोडेनले सिटीका लागि चौथो गोल गरेपछि दुवैतर्फबाट अन्य गोल भएनन्।
जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि ५ अंकको अग्रतासमेत बनाएको छ। युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ। सिटीको २२ खेलबाट ५० अंक छ। २३ खेल खेलेको युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा छ। पराजित लिभरपुल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ। सिटीभन्दा लिभरपुल १० अंकले पछि छ।
प्रतिक्रिया