गण्डकी : गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन ।
जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि पार्टी संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ । बहुमत ३१ सदस्य पुग्नका लागि जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । जनमोर्चाका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनका पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्विप पनि जारी गरेका छन् । पार्टीको निर्णय परिवर्तन नभएको बताउँदै अध्यक्ष बरालले बुधबारसम्म थापाले हस्ताक्षर गर्ने विश्वास व्यक्त गरे । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा९एमाले०का २७ जना छन् भने एक स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ र जसपाका दुई सांसद छन् ।
प्रतिक्रिया