काठमाडाैंः प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइस धारा स्नान मेला यस वर्ष पनि स्थगन गरिएको छ। कोरोना भाइरसकाे जाेखिम कम गर्न गत वर्ष पनि बन्दाबन्दीका कारण जात्रा स्थगन गरिएको थियो।
कोरोनाकाे नयाँ प्रकार तीव्ररुपमा फैलन थालेसँगै मेला स्थगन गरिएको काठमाडाैं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।
प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा रहेकाे छ। सक्नेले नागार्जुनस्थित जामाचोमा दर्शन गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने चलन रहेकाे छ। नसक्नेले बालाजु बाइसधारापछि सीधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ।
हाल जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ। घना जंगल भएकाले यो बाटो जामाचो जाँदा समूहमा जानुपर्ने हुन्छ। जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ। जामाचो जान हाल जीपलगायत सवारी जान सक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेर समेत जान सकिन्छ।
हाल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानुपर, ललितपुरलगायत उपत्यकाका विभिन्न स्थानका तामाङ समुदायको यो जात्रामा भीड लाग्ने गर्छ। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवंगत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ।
प्रतिक्रिया