काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ५० रुपैंयाँ तोकेको हो ।
तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो । गतवर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार तोकेकोमा यस वर्ष १ सय ५० रुपैंयाँ बढाएको हो । किसानले लागत अनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।
तोकिएको मूल्यमा कुनै किसानको गहुँ बिक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने जनाइएको छ । नगर प्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया