काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः एक पटक तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्नाले कोरोनाबाट बच्न सकिने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्नाले काेराेनाबाट धेरै सुरक्षित हुने बताएका हुन्।
‘पहिले गएर नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट्। नुनपानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुई वटा पात उमाल्दिउँ, बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट्। स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ', उनले भने।
प्रधानमन्त्री ओलीले भ्याक्सीनले पनि शत प्रतिशत काम नगर्ने भन्दै काेराेनाबाट सुरक्षित रहन आग्रह गरे। उनी भन्छन्, 'अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सीनले पनि गर्दैन। भ्याक्सीनले पनि केही पर्शेन्ट सुरक्षित गर्ने हो। केही पर्शेन्ट बाँकी नै रहन्छ, त्यही केही पर्शेन्टभित्र परियो भने त गैगयो नि। त्यसकारण हामीले सावधानी अपनाउनुपर्छ।’
यस्तै प्रधानमन्त्री ओलीले अहिले नै सावधानी नअपनाए पुनः लकडाउन हुन सक्ने पनि जनाएका छन्। भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड सङ्क्रमणबाट जोगिन सकिने बताउँदै उनले सावधानी नअपनाए जनजीवन ठप्प हुन सक्ने बताएका हुन्।
प्रतिक्रिया