सर्लाहीः जिल्लाकाे मुख्य बजार लालबन्दी र हरिवनको चोकमा सडक मिचेर व्यापार–व्यवसाय गरिँदा दुर्घटनाको जोखिम बढेको छ। पूर्व–पश्चिम राजमार्गस्थित बसपार्क र सडकपेटीमा सडक अतिक्रमण गरी व्यापार– व्यवसाय गर्ने क्रम बढेसँगै दुर्घटनाकाे जाेखिम बढेकाे हाे।
जिल्लाकै व्यापारिक केन्द्रका रूपमा रहेका यी बजारमा बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफूल, तरकारीलगायत विभिन्न सामग्री किनबेच हुने गरेकाे छ। सडकमै हुने गरेको व्यापारका कारण दुर्घटनाको जोखिम दिनानुदिन बढदै गएको ट्राफिक प्रहरीले जनाएको छ।
व्यस्त सडक र तीव्रगतिमा आएका सवारी साधनले कतिबेला क्षति गर्छ भन्ने अनुमान पनि लगाउन नसकिने स्थानीय व्यापारी किसान महतोले बताए। राजमार्ग अतिक्रमण गरेर व्यापार गर्नेहरूलाई करको दायरामा ल्याउने प्रयास नगरिँदा मनोमानी बढेको स्थानीयले बताए। यस्तै नियमकारी निकायसमेत मौन रहेको स्थानीयकाे आरोप छ।
राजमार्ग अतिक्रमण गरेर व्यापार गर्ने व्यापारीलाई ट्राफिक प्रहरीले पटक–पटक हट्न आग्रह गरेको भए पनि व्यवसायीले अटेर गर्दै आएका छन्। यस्तै स्थानीय सरकारले पटक–पटक हटाउँदासमेत अटेर गरि पुनः पसल थाप्न आउने गरेकाे लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र न्यौपानेले बताए।
उनकाअनुसार आफूहरुले पटक–पटक हटाउने प्रयास गरेपनि भोलिपल्ट फेरि आएर सोही स्थानमा व्यापार गर्ने गरेका छन्।
यस्तै अर्काे नगरपालिका हरिवनको आफ्नै भित्री बजार व्यवस्थित नरहेका कारण पनि केही समस्या आएको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भु मैनालीले जानकारी दिए।
यता पहुँच भएकाले सडक मिचेरै बनाएको संरचना हटाउन वास्ता नगरिएको तर निमुखामाथि प्रशासन र स्थानीय सरकार पनि निर्मम भएको ती व्यापारीको भनाइ छ।
लालबन्दी र हरिवनमा राजमार्ग तथा सडक अतिक्रमण गरेर व्यापार व्यवासाय मात्र नभई पार्किङसमेत गर्ने गरिएकाे छ। अटो, इ–रिक्सा तथा माल ढुवानी गर्ने ठेला पनि राजमार्ग नै ढाकेर पार्किङ गर्ने गरेका छन्।
प्रतिक्रिया